श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
श्रीलङ्काले केही महिनामा खाद्यान्नको चर्को अभाव सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गर्दै सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।
वृक्षारोपण कम्पनीहरूसँग ९ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिन रहेको छ । श्रीलङ्काले सन् २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको छ ।