गत साता ओस्कर अवार्ड घोषणा कार्यक्रमको स्टेजमै उक्लिएर कमेडीयन क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले एकेडेमी (एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस) बाट राजीनामा दिएका छन् ।
‘९४ औं संस्करणको ओस्कर अवार्डमा मेरो प्रतिक्रिया पीडादायी र अक्षम्य थियो,’ विल स्मिथले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एकेडेमीले भने स्मिथको राजीनामा स्वीकृत गरेको जनाएको छ । साथै अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको पनि एकेडेमीले जनाएको छ ।
स्मिसथले गत शनिबार लस एन्जलसस्थित ओस्कर अवार्ड घोषणा समारोहमा क्रिस रकले आफ्नी पत्नीमाथि मजाक उडाएको भन्दै स्टेजमै उक्लिएर थप्पड हानेका थिए । तर त्यसपछि भने स्मिथले सोही दिन अवार्ड ग्रहण गर्ने क्रममा माफी पनि मागेका थिए ।
थप्पड हानेको एक घण्टापछि नै विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड उचालेका थिए । उनले किङ रिचर्ड फिल्मका लागि उक्त उपाधि पाएका हुन् । स्मिथले आफूले पनि क्रिस लगायत साथीहरूलाई चित्त दुखाएको प्रतिक्रिया दिएका छन् ।
‘मैले एकेडेमीको विश्वासलाई धोका दिएँ। मैले अन्य उम्मेदवार र विजेताहरूलाई उत्सव मनाउने अवसरबाट वञ्चित गरें,’ स्मिथले भनेका छन् । यस्तै उनले परिवर्तन हुन समय लाग्ने भन्दै अब हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासनात्मक कारबाही जारी राख्ने प्रतिक्रिया दिएका छन् । कमेडियम रकले भने स्मिथमाथि कुनै मुद्दा दायर नगर्ने बताएका थिए ।
स्मिथकी श्रीमति जाडा पिंकेट स्वास्थ्य समस्याका कारण केही समययता कपाल झर्ने समस्याको सामना गर्दै आएकी छन् । सोही विषयलाई रकले मजाक बनाएर स्टेजबाट कमेडी गरेका थिए । सोही विषयलाई लिएर स्मिथले रकलाई थप्प हानेका हुन् ।
कतिपय मिडियाले भने ओस्कर अवार्ड घोषणा कार्यक्रमभन्दा पनि स्मिथले थप्पड हिर्काएको विषयले बढी चर्चा पाएको भन्दै टिप्पणी गरेका थिए । यद्यपि उक्त घटना अझै पश्चिमा मिडियाका लागि चर्चाको विषय बनेको छ ।
हालै स्मिथले राजीनामा दिएको संस्था एकेडेमी अर्थात् ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस’ हरेक वर्ष फिल्मकर्मीलाई ओस्कर अवार्ड प्रदान गर्ने निकाय हो । १९२७ मा स्थापित यो संस्थाले दिने अवार्ड संसारभरका फिल्मकर्मीका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ । स्मिथले सोही संस्थाको सदस्यताबाट राजीनामा दिएका हुन् ।