पोखरा ,भदौ १९ – कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ४:५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०५ बिबि ६७५९ को कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं- २४ हेक्वा कालिका गण कास्कीबाट १३ जनाको टोली उद्धारका लागि परिचालन भएको थियो।
उद्धारका क्रममा कारमा सवार भारतको बिहार प्रदेश, मोतिहरी जिल्ला रक्सोल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
त्यसैगरी, बिहान ५:५५ बजे फेवातालको पानीभित्रबाट अचेत अवस्थामा दुई जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। चिकित्सकले बिहान ६:२१ बजे उनीहरूलाई मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा भारतको बिहार प्रदेश, ईस्ट चम्पारण जिल्ला, रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादव र करिब ४०–४५ वर्षीय एक पुरुष रहेका छन्। दोस्रो मृतकको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
क्रेनको सहयोगमा बिहान ६:२० बजे कारलाई फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



