नवलपुर । गैँडाकोटमा हुने स्थानीय तह स्तरीय नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । गैँडाकोट–१२ स्थित हर्कपुरमा रहेको जनता माध्यमिक विद्यालयमा यसपटकको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रतियोगिता सम्बन्धी जानकारी दिन आज विद्यालयम आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम् नगर खेलकुद विकास समितिका सदस्य प्रकाश पौडेलले प्रतियोगिता मंसिर ११ देखि १३ गतेसम्म हुने जानकारी दिए । प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयबाट विद्यार्थीहरुको सहभागिता रहने पौडेलले जानकारी दिए । विद्यालय तहका विद्यार्थी लक्षित प्रतियोगितामा गैँडाकोट भित्रका विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन पाउने पौडेलले बताए ।
उनका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, विभिन्न समूहमा रिले तथा एकल दौड, उफ्रने, फ्याक्ने एवम् मार्सल आर्टका तेक्वान्दो, कराते र उसुलगायतका खेलहरु समावेश गरिएका छन् । प्रत्येक खेलमा पहिलो, दोस्रो तथा तेस्रो हुने विद्यार्थीहरुलाई प्रोत्साहन रकम एवम् कबड्डी र भलिबलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ प्रदान गरिने पौडेलले बताए । उनका अनुसार पालिकामा पहिलो हुने विद्यालयलाई ट्रफीसहित २५ हजार,दोस्रोलाई १५ हजार तथा तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलका पहिलो हुने खेलाडी तथा टोलीलाई छनौट गरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने उनको भनाइ छ । प्रतियोगिताको सबै विधामा छात्र र छात्रातर्फ फरक फरक प्रतिस्पर्धा गराइनेछ ।
पत्रकार सम्मेलनमा जनता मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु लामिछानेले विद्यालय तहको खेलकुदबाट नै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने बताए । खेलकुदमा अब्बल भएका खेलाडीहरुलाई खेलको माध्यमबाट नै जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना हुँदै गएको लामिछानेको भनाइ छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर खड्काले विद्यालयले विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा सहभागी हुन प्रोत्साहन गर्दै आएको बताए । खेलकुदले विद्यार्थीहरु स्वस्थ हुने भन्दै स्वस्थ विद्यार्थीबाट स्वस्थ राष्ट्र निर्माण हुने खड्काको भनाइ छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले गैँडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा पर्याप्त बजेट लगानी गर्दै आएको बताए । खेलकुदमा सहभागी विद्यार्थीहरुले आफूलाई प्रमाणित गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

