काठमाडौं : भर्खरै प्रकाश सपुत युट्युव च्यालनवाट सार्वजनिक ‘पिर’ प्रति माओवादी केन्द्र सम्बद्ध चार संगठनले आपत्ति जनाएका छन् । उनीहरुले सो गीतलाई तत्काल युट्यूब च्यानलबाट हटाउनुपर्ने वताउदै माफी माग्नुपर्ने माग गरेका छन् ।
जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गर्दै पिर गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको बताएका छन् ।
‘भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नुपर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साधिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ । यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ ।’
संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासंगिक दृश्य र संवाद राखेर चर्चामा आउने बदनियत राखेको उनीहरुको आरोप छ ।