नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । गैँडाकोट इङ्लिस स्कूलको ग १ ख ३९७० नम्बरको बसले गैँडाकोट–५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार स्कूल बसको ठक्करबाट गैँडाकोट–६ का करिब २४ वर्षीय राजु थापाको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका पण्डितले बताउनुभयो । दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट–१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्तणमा लिई थप अनुसन्धान अगाडि बढाइएको पण्डितको भनाइ छ ।

