काठमाडौ : आमा बन्नु संसारका लागि सबैभन्दा उत्कृष्ट अनुभव हो ।
तर कतिपयका लागि यो चाहना वा प्राथमिकता नपर्न सक्दछ भने कतिपयलाई चाहेर पनि मातृत्वको अनुभवबाट बञ्चित हुनुपर्दछ ।
३५ वर्षकी सारा लाम्प्ले आफ्ना पति र तिनजना छोरासँगै अमेरिकाको एटलान्टामामा बस्दछिन् । उनले चौथो बच्चा जन्माउनका लागि गर्भाधारण गरेकी थिइन् । तर भाग्यले उनलाई साथ दिएन । बच्चा त जन्मियो तर बच्चाको मृत्यु भैसकेको थियो ।
मरेको बच्चा जन्मिएपछि सारालाई पिर नपर्ने कुरै भएन । त्यसपछि उनले आफ्नो मृतक बच्चाको सम्झनालाई अमर बनाउने शानदार उपाय निकालिन् । आफ्नो बच्चालाई स्तनपान गराउन नपाएकी साराले आफ्नो दूध (ब्रेस्टमिल्क) दान गर्ने निर्णय गरिन् ।
जन्मभन्दा अगाडि नै साराले आफ्नो बच्चाको नाम लेजेन्ड राखेकी थिइन् । तर लेजेन्डको जन्मअगाडि नै मृत्यु भयो । डाक्टरहरूले सारालाई बँचाउन सफल भएपनि पेटको बच्चालाई बँचाउन सकेनन् ।
गर्भमै बच्चाको मृत्यु भएर आफूसमेत जटिल शल्यक्रियाबाट गुज्रिएपछि केही स्वास्थ्यलाभ गरेर घर फर्किएकी साराले त्यसपछि दूध दान गर्ने निर्णय गरेकी थिइन् ।
दूध दानबाट मृतक बच्चाको यादलाई अमर राख्ने र पीडा कम गर्ने उनको चाहना थियो । यसबाट खेर जाने उनको दूधले अरु कसैको बच्चामा प्राण भर्दथ्यो ।
बच्चाको मृत्युको १४ हप्ता हुँदा हालसम्म साराले मदर्स मिल्क बैंक अफ अलाबामालाई २३ लिटर भन्दा धेरै आफ्नो दूध दान गरिसकेकी छिन्।
उनले आफ्ना नवजात शिशुलाई गुमाएका महिलाहरुलाई सम्पर्क गरेर दूध दान गर्न प्रोत्साहित गरिरहेकी छिन् ।