गैंडाकोट,असोज ५ । दुई दशकदेखि संगीत साधना गर्दै आएका गैँडाकोटका चर्चित संगीतकार विशाल ढकालले नयाँ बालगीत ‘जुनको कचौरा…’ सार्वजनिक गरेका छन् । सन्तकवि गोविन्दराज विनोदीको शब्द रचना रहेको उक्त बालगीत युट्युब च्यानल ‘बालगीत स्टुडियो एचडी’ मार्फत बजारमा ल्याइएको हो।
यश्वन्ती आचार्य र अरुणा रेग्मीको स्वर रहेको यस गीतमा संगीतकार ढकाल स्वयम्को संगीत रहेको छ भने भिडियो सम्पादन भूमिलाल पौडेलले गरेका हुन् । आइतबार सार्वजनिक गरिएको यस गीतका सम्पूर्ण दृश्यहरू कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर तयार पारिएको संगीतकार ढकालले जानकारी दिए ।
विशेष गरी नर्सरीदेखिका बालबालिकाहरूलाई लक्षित गरी तयार पारिएको यस च्यानलमार्फत बालबालिकालाई गीतका माध्यमबाट ज्ञान, शिक्षा, संस्कार, संस्कृति र समाजका विषयमा जानकारी दिने लक्ष्य राखिएको छ। यस शृंखलाअन्तर्गत हरेक १० दिनमा एउटा नयाँ गीत सार्वजनिक गरिने र कूल २४ वटा बालगीतहरू समावेश गरिने बताइएको छ। १० वटा गीत बजारमा आएपछि एक वृहत कार्यक्रम आयोजना गरी युट्युब च्यानलको औपचारिक उद्घाटन गर्ने योजना रहेको संगीतकार ढकालले बताए ।
यस च्यानलबाट प्रसारण हुने सबै बालगीतहरूमा ढकालकै एकल संगीत रहनेछ। बालगीतको यस विशेष अभियानमा प्रकाश सायमी, डा. नवराज लम्साल, डा. गीता त्रिपाठी, भूपिन खड्का, अमर न्यौपाने, शीतल कादाम्बिनी, एस.पी. कोइराला, रमण घिमिरे, डा. कृष्णहरि बराल, नगेन्द्र थापा, बुँद राना, डा. घनश्याम परिश्रमी, डा. मनु मञ्जिल, सरला जोशी, निर्दोष जीवन, मनोज भण्डारी, गोपी सापकोटा, धर्म सापकोटा ‘राजु’ लगायतका दिग्गज सर्जकहरूका शब्द समेटिनेछन्। ती गीतहरूमा स्थानीयदेखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको स्वर रहनेछ।
गैँडाकोटको नगर गान तथा ‘बर रुँदा पिपल’ लगायत थुप्रै चर्चित गीतहरूमा संगीत गरिसकेका ढकालका अनुसार यी बालगीतहरूले बालबालिकाको शैक्षिक गतिविधि र सिकाइ प्रक्रियामा ठूलो मद्दत पुर्याउने विश्वास लिइएको छ।

