काठमाण्डौ : संसद् बैठकमा एमसीसी पेस हुनेमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त भएको वताउनुभएको छ। देउवाले भोलि बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताउनुभएको हो ।
आज मङ्गलवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भोलिको बैठकमा एमसीसी सम्झौता पेस गर्ने विषयमा आफूले सभामुखसँग परामर्श गरिरहेको र सम्झौता पेस गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
‘भोलिको बैठकमा एमसीसी पेस हुनेमा म विश्वस्त छु, यो विषयमा मैले सभामुखज्यूसँग परामर्श गरिरहेको छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री गगन थापाले भन्नुभयो । बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो।
एमसीसी सम्झौता यो अवस्थासम्म आउँदा सबै दल सरकारमा बसेर कुनै न कुनै निर्णय गरेकाले अहिले विरोध गरेर उम्कन नपाइने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।