अहिले संसारभरिको ध्यान अफगानिस्तानमा छ। दक्षिण र मध्य एसिया जोड्ने भूपरिवेष्ठित मुलुक अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेका छन्।
२० वर्षअघि अमेरिकाले काबुलबाट धपाएका तालिबानहरू अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोडेपछि फेरि काबुल फर्किन्छन् भन्नेमा कसैलाई द्वुविधा थिएन। अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति असरफ घानीको सरकार ढल्ने धेरै विश्लेषकले बताएका थिए।
तालिबानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनु पर्यो। हजारौं अमेरिकी सैनिक काबुलमा तैनाथ हुँदाहुँदै तालिबान लडाकु र कमाण्डर आइतबार साँझ राष्ट्रपति कार्यालयमा छिरे। फोटो खिचे र राष्ट्रपतिको कुर्सीमा बसेर कुरान पढे। तालिबानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर हिँडिसकेका थिए। तालिबानहरूले काबुल कब्जा गर्दा कसैले प्रतिरोध गरेन।
यस्ता दृश्यहरू यसअघि तालिबानले प्रान्तीय राजधानी कब्जा गर्दा पनि देखिएका थिए। कुनै पनि ठाउँमा अफगान सुरक्षाकर्मीले तालिबानसँग भिडन्त गरेर उनीहरूलाई परास्त गर्न सकेनन्। धेरै ठाउँमा त उनीहरूले सामान्य प्रतिरोध पनि गरेनन् बरू आत्मसमर्पण गरिदिए। अफगान सुरक्षाकर्मीको आत्मसमर्पण तालिबानहरू प्रान्तीय राजधानी छिर्ने गतिमा निर्भर थियो। जति छिटो तालिबान आए, त्यति नै छिटो आत्मसमर्पण।
बीस वर्षसम्म अमेरिकी सैनिकसँग हुर्किएका अफगान सुरक्षाकर्मी तालिबानसामू कसरी यति धेरै निरीह भए?
द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार सन् २००१ यता अमेरिकाले अफगान सुरक्षाकर्मीको तालिम, हतियार र अन्य सामग्रीमा ८३ अर्ब डलर खर्चेको थियो।
अमेरिकीहरूलाई सधैँ अफगानिस्तानमा लड्न सकिन्न बरू यहाँकै सुरक्षाकर्मीलाई बलियो बनाए काबुलमा प्रजातान्त्रिक सरकार बनिरहन्छ भन्ने लागेको थियो। राष्ट्रपति बाराक ओबामा प्रशासनको मुख्य रणनीति नै अफगान सुरक्षाकर्मीलाई बलियो बनाएर जतिसक्दो चाँडो आफूहरू फर्किने भन्ने थियो।