यस वर्षको दशैंमा नयाँ नोट साट्न सर्वसाधारणले निश्चित दिन कुर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले विगतमा जस्तो सूचना जारी गरेर नयाँ नोट सटहीका लागि निश्चित मिति तोक्ने व्यवस्था हटाएको हो। राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। सार्वजनिक बिदाबाहेक अन्य दिन नयाँ नोट सटही सुविधा उपलब्ध हुने जनाइएको छ।
काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा अन्य क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको छ। अघिल्ला दुई वर्ष नयाँ नोटको सट्टा सुकिला नोट सटही गरिएको थियो। तर यस वर्ष भने राष्ट्र बैंकले नयाँ नोट नै सटही गर्ने जनाएको छ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणलाई वितरण गर्न आवश्यक नयाँ नोट उपलब्ध गराइसकिएको छ। त्यसैले सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकको शाखामा गएर नयाँ नोट साट्न सक्नेछन्।

