चितवन, असार ८। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न समय र स्थानहरूमा हराएका मोवाईल फोनहरू फेला पारेको छ। प्रहरीले चितवन, काठमाडौं, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही र महोत्तरी लगायतका जिल्लाहरूबाट तदारुकताका साथ खोजतलास गरी ३० थान हराएका मोवाईलहरू बरामद गरेको हो।
बरामद मोवाईलहरूमा आइफोन, स्यामसङ्ग, रेडमी, ओप्पो, भिभो र पोको लगायतका विभिन्न कम्पनीका हाईएन्ड तथा मध्यमखालका मोवाईलहरू रहेका छन्। प्रहरीले उक्त मोवाईलहरू आफ्ना सम्बन्धित धनीलाई बुझाइसकेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बरामद मोवाईलहरूका धनीले विगतमा निजहरूबाट मोवाईल हराएको भनी निवेदन दिएका थिए। प्रहरीले चालू आर्थिक वर्षमा मात्रै लाखौंको मूल्य बराबरका सयौं मोवाईल फेला पारी बुझाइसकेको जनाएको छ।
मानिसले सावधानी अपनाउनुका साथै प्रहरी नजिकको साझेदार बन्नुपर्ने चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। मोवाईल चोरीको घटना कम गर्न प्रहरी लगातार सचेत रहेको र मोवाईल ट्र्याकिङमा पनि सक्रिय भएको उनले बताए।