नवलपरासी/२३ फाल्गुन पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ बेलासपुर पर्ने पालिकाको बहुउद्देश्यीय सभाहलमा चार दिने नमूना यूवा संसद अभ्यास कार्यक्रम सुरु भएको छ।
पाल्हीनन्दन गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद् नेपालको ससर्त अनुदानमा आज देखि स्थानीय तह नुमना संसदको प्रशिक्षण तथा अभ्यास कार्यक्रम विधिवत सुरु भएको हो ।
हिजो देखि शुरु भइ फाल्गुन २६ गतेसम्म संचालन हुने नमुना यूवा संसद अभ्यास कार्यक्रम पाल्हीनन्दन गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक) ज्युको प्रमुख आतिथ्यता तथा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना) ज्युको विशिष्ट आतिथ्यतामा सुरु भएको छ।
कार्यक्रममा प्रत्येक वडाबाट सहभागी हुने गरी ३५ जना युवाहरुको अर्थपूर्ण सहभागिता रहेको छ। कार्यक्रम अन्तर्गत नमुना संसद अभ्यास,स्थानीय सरकार सञ्चालन प्रक्रिया,गाउँसभा सञ्चालन विधि लगायत नेपालको शासन प्रणाली बारे युवाहरुलाई प्रशिक्षण तथा अभ्यास गराइने पाल्हीनन्दन गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमूख प्रमोद यादवले बताए भने कार्यक्रममा राष्ट्रिय युवा परिषद् का प्रशिक्षक रंजीत कुमार लोहार र मोहम्द इजहार शेखले सहजीकरण गरिरहेका छन्।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा अधिकृत खुलनाथ गौतम,जिल्ला यूवा समिति नवलपरासीका अध्यक्ष धनप्रसाद भट्टराई,पालिकाका श्रोत शिक्षक अशोक ठाकुर,मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता,सन राईज माध्यमिक विद्यालयका प्रधानाध्याक उपेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन आदित्य प्रजापति गरेका थिए।