गैंडाकोट // नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्नुभएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीस्थित तुलबहादुर थापाको घरमा बिजुलीको तार सर्टभई आइतबार बिहान आगलागी भएको थियो। आगलागीबाट थापाको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेर नस्ट भएको थियो ।
आगलागीबाट पीडित परिवारलाई नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले आज सोमबार १० हजार १ सय ५ रुपैयाँ आर्थिक सहायता प्रदान गर्नुभएको छ । उहाँले घरनिर्माणको लागि आफ्नोतर्फबाट सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आगलागीका पीडित तुलबहादुर थापाले भट्टचनलाई धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग आउने आशा व्यक्त गरेका छन्।
यस घटनाले एउटा परिवारलाई भारी आर्थिक क्षति पुर्याएको छ। घरबारविहीन बन्नुपरेको यो परिवारलाई बसोबास र जीविकोपार्जनका लागि अर्को चुनौती थपिएको छ। यस्तो विपरित अवस्थामा समाज र सरकारबाट थप सहयोग आवश्यक देखिन्छ।