गैँडाकोट // गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनको लक्ष्य साथ एक नमूना अभियान सुरु भएको छ। यस अभियानमा स्थानीय वडा कार्यालय, नागरिक समाज, टोल विकास संस्थाहरू र सुरक्षा निकायहरू संलग्न छन्।
गैँडाकोट नगरपालिकामा केही समययता साँघुरो बाटो र बढ्दो सवारी साधनको चापका कारण दुर्घटनाको जोखिम उच्च बनेको थियो। यही समस्यालाई मध्यनजर गर्दै वडाका विभिन्न चोक, मुख्य सडकहरू र बस्तीभित्रका क्षेत्रहरूमा ट्राफिक नियमन गर्न ट्राफिक संकेत चिन्ह, जेब्रा क्रसिङ र डिभाइडरहरू जडान गरिएको वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाटो साँघुरो भएर सवारीसाधनको चाप बढेपछि दुर्घटनाको जोखिम बढेको थियो। त्यसैले हामीले यस्ता उपाय गरेका हौं।”
उक्त अभियानअन्तर्गत वडा नम्बर ८ भित्र १७ वटा डिभाइडर ड्रम, १५ ठाउँमा जेब्रा क्रसिङ र १० वटा ट्राफिक संकेत बोर्डहरू स्थापित गरिएको नन्दन टोल विकास संस्थाका अध्यक्ष शशिधर कंडेलले बताउनुभयो । कंडेलका अनुसार यी नियामक उपायहरूबाट सडक सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ।
वडा कार्यालय र स्थानीय समुदायको पहलबाट सुरु भएको यस अभियानलाई प्रहरी निकायले पनि समर्थन गरेको छ। प्रहरी नायब निरीक्षक दामोदर मल्लले सबैको सहभागितामा मात्र सफलता आउने बताउँदै “दुर्घटना न्यूनीकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ। सवारी साधन चालक र पैदलयात्रीहरूले नियमहरूको पालना गर्नैपर्ने ” बताउनु भयो ।
उहाँले लाइसेन्सविना सवारी चलाउने गाडी चालकलाई २ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिदै बच्चाहरूबाट लाइसेन्सविना सवारी चलाउदा दुर्घटना भए अभिभावक स्वयं पनि सजायको भागीदार हुने बताउनु भयो ।
गैँडाकोटको यस अभियानमा स्थानीय वडा कार्यालिका, टोल विकास संस्था, प्रहरी र अन्य सुरक्षा निकायहरू संलग्न छन्। यसले स्थानीय समुदाय र सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई पुष्टि गरेको छ। यस्ता संयुक्त पहलहरूले सुरक्षित यातायात व्यवस्थापनलाई सहज बनाउँछन् भन्ने विश्वास गरिएको छ।
स्थानीय स्तरमा यातायात व्यवस्थापन र सडक सुरक्षाका लागि गरिएका यस्ता पहलहरू नमूना मानिन्छन्। यसबाट अन्य स्थानीय तहहरूले पनि सिक्ने अवसर पाउनेछन्। स्थानीय पहलबाट नै सुरक्षित यातायात व्यवस्थापनलाई सम्भव बनाउन सकिन्छ भन्ने गैँडाकोटको यस अभियानले देखाएको छ।