चितवन,फागुन २०- चितवनमा एक बालक शनिवारदेखि सम्पर्कबिहिन भएका छन्। भरतपुर महानगरपालिका- १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल सम्पर्कबिहिन भएको चितवन प्रहरीले जनाएको छ। विद्यालयबाट ट्युसन पढेर फर्किने क्रममा उनि हराएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।
पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए। विद्यालयले शनिवार राखेको ट्युसन पढ्न भनेर भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए।
निकेशका काका कमल बरालले खोजी गरिदिन सबैलाई अपिल गरेका छन । ट्युसन पढ्न बिहान ९ः३० बजे घरबाट हिडेका निकेश स्कूलमा ट्युसन पढेर १ः३० मा घर फर्किएपछि सम्पर्कमा नआएको उनले बताए । निकेशलाई कतै देख्ने वा भेट्ने जो कोहीले ९८४५०४९९६६ नम्वर वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।