चितवन, माघ २८- लायन्स क्लब अफ नारायणगढ नारायणीले रजत जयन्ती मनाएको छ । एक सातासम्म विभिन्न कार्यक्रम गरी नारायणीले रजत जयन्ती मनाएका हो ।
माघ १८ गते मधुमेहको परीक्षण गरेर कार्यक्रमको सुरुवात गरेको क्लबले आइतबार(आज) एक कार्यक्रमका बिच समापन गरेको छ । साताव्यापी कार्यक्रम अन्तरगर्त क्लबले १९ गते पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर गरेको थियो । त्यस्तै २० गते नारायणी कला मन्दिर नारायणगढमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका महिला सदस्यबिच हाजिरीजवाफ प्रतियोगिता, माघ २१ गते बिहान मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम र दिउँसो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरका बालरोगी ३० जनालाई न्यानो कपडा वितरण गरेको संस्थाकी अध्यक्ष अञ्जु पियाले जानकारी दिइन् ।
२२ गते बिहान कविलास हेल्थ पोष्ट जुगेडीमा निःशुल्क आँखा शिविर एवं २३ गते देवघाटधाममा सरसफाई कार्यक्रम गरिएको थियो । साताव्यापी कार्यक्रम अन्तर्गत २४ गते मिलीजुली आधारभूत विद्यालय देवचुलीमा प्राकृतिक फिल्टर ट्यांकी निर्माण कार्यको समुद्घाटन समेत गरिएको थियो ।
२५ वर्षअघि २२ जना महिलाहरुलाई संगठित गरी लायन्स क्लब अफ नारायणगढले स्थापना गराएको लायन्स क्लब अफ नारायणगढ नारायणीमा हाल ४६ जना सक्रिय सदस्य छन् । गृहिणीहरुबाट पनि समाज रुपान्तरण गर्न सकिन्छ, सेवा कार्यमा महिलाहरु समेत सक्रिय रहन सक्छन् भन्ने मान्यता लिएर क्लब स्थापना गरिएको संस्थाकी पूर्व अध्यक्ष रजनी मास्केले जानकारी दिइन् । उनका अनुसार, यस क्लबले अहिलेसम्म पाँच सयभन्दा बढी विद्यार्थीलाई छात्रबृद्धि दिएको छ । सामाजिक काम अन्तरगत यस क्लबले डेण्टल क्लिनिक समेत सञ्चालन गरेको छ । रजत महोत्सव समापनको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । रजत महोत्सवको समापन कार्यक्रममा लायन्स क्लवका अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहेका थिए ।