काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने ठोकुवा गरिदिनुभएको छ ।
पाँच वटा बाख्रा एक ठाउँमा बस्दैमा भैँसीजत्रो हुँदैनन् भन्ने टिप्पणी गर्दै एमाले भैँसी र पाँच दलीय गठबन्धन बाख्राहरुको समूह भएको उल्लेख गर्नुभयो ।
आफूलाई जोगाउन चाहने अरू दलका नेता कार्यकर्ताले स्थानीय तहमा खुसुक्क एमालेमा मिल्न उहाँले सुझाव दिनुभयो ।
बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै ओलीले भन्नुभयो, ‘के हो यो पाँच दलीय गठबन्धन भन्या , पाँच वटा बाख्रा एक ठाउँमा बस्यो भने पनि भैँसीजस्तो हुँदैनन् भन्दै हल्का टिप्पणी गर्नुभयो । ’
उहाँले एमाले अहिले एक कदम पछि हट्दैमा उत्साहित नहुन विपक्षीहरूलाई चुनौती दिनुभयो । एमालेसँग सिङ जुधाउन खोज्नेहरूको सिङ नै भाँचिने उहाँको चेतावनी थियो ।
‘अब कुनै पार्टीलाई स्थानीय तहमा एक दुई वटा पद फुत्काउन मन छ भने खुसुक्क एमालेमा मिल्दा हुन्छ,’ ओलीले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको हालत अब के हुन्छ ? पार्टी रहँदैन, केन्द्र मात्रै बाँकी हुन्छ ।
भाँडाभित्र केही रहँदैन, केन्द्र मात्रै । माकुनेले बनाएको पार्टी भन्ने गुट छ नि । त्यो झन् के होला ?’ भन्ने खिस्स हाँसेर उडाउनुभयो ।