माडी : चितवन राष्ट्रिय निकुञ्जले चेपाङ समुदायलाई अझै पनि दुर्व्यवहार गरिरहेका छन् । माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका चेपाङ समुदायलाई निकुञ्जको सेनाद्धारा पटकपटक दुर्व्यवहार भइरहेको छ । ।
निकुञ्जको कर्मचारीसहितको सेनाको टोलीले चैत १३ गते दिउँसो कुसुमखोलाका १२ घर टहरामा आगो लगाएका थिए। आगो लागेकै घरमा पनि पुनः टहरा बनाएकोमा निकुञ्जले फेरि आएर भत्काए दिएको स्थानीयले बताएका छन् ।
आगो लगाइसकेपछि पनि चेपाङले त्यही ठाउँमा घर टहरो बनाएका थिए। तर, आइतबार साँझ पुगेको नेपाली सेनाको टोलीले फेरी घर भत्काउने र स्थानीयमाथि कुटपिट गरिएको छ।
निकुञ्ज प्रशासनले पटकपटक दमन गर्ने क्रम नरोकिएको भन्दै नेपाल चेपाङ संघमार्फत सडक संघर्षको कार्यक्रममार्फत नै राज्यालाई दबाब दिने बेला आएको संविधान सभा सदस्य गोविन्दराम चेपाङले बताए।
‘सीमान्तकृत चेपाङ समुदायमाथि राज्य पक्षबाटै दमन हुने क्रम रोकिएन,’ उनले भने, ‘अब हामी सडक संघर्ष गर्ने पक्षमा छौँ।’ आइतबार साँझ पनि निकुञ्जबाट आएका सेनाको टोलीले यहाँका स्थानीयमाथि कुटपिट गर्ने, धम्क्याउने गरेका उनले बताए।