तारा भट्टराई
उठ्दा जेनिफरले आफूलाई नग्न अवस्थामा पाई । कपडा एकातिर अनि स्यान्डिल-ब्याग अर्कोतिर छरपस्ट । रमेशलाई सोधी, “यो तिमीले के गरेको रमेश ? म होसमा नभएको अवस्थामा तिमीले किन यसो गरेऊ ? यो अपराध हो । रेप हो ।”
बैङ्गलोरमा आईटी गरिरहेका रमेशलाई अकस्मात् डिभी पर्यो । अमेरिका आए । न्यूयोर्क सहरमा एउटा बैङ्कमा आईटी प्रोफेसनलका रूपमा सजिलै काम पाइहाले । काठमाडौँको घरानियँ परिवारका उनी अविवाहित थिए ।आईटी प्रोफेसनल अनि पैसा पनि राम्रो कमाइ गर्ने खान्दानी परिवारका छोरालाई उता घरमा छोरी दिनेको लाइन थियो । उनको बिहेका लागि राम्रो खानदान र पढेलेखेकी केटी खोज्ने काम विगत दश वर्षदेखि नै जारी छ । यता रमेशको मेसेन्जर, ह्वाट्सएप, भाइबर खान्दानी परिवारका, पढेलेखेका, विवाह गर्ने उमेर पुगेका केटीहरुका फोटाहरुले खचाखच भरिएका छन् । उनका फुपू, माइजू, काकीलगायत नजिकका नातेदारहरू पनि फोटो आदानप्रदान गर्न र उनको बिहेको कुरा गर्न व्यस्त छन् । तर रमेशले जति केटीहरुको फोटो पठाए पनि र जति जनासँग कुरा चलाए पनि कुनै न कुनै बहाना बनाएर रिजेक्ट गरिदिन्छन् । सुरुवाती दिनमा उनको विवाहको कुरा चलेका कति केटीहरूको त बच्चाले नै अङ्कल भनेर बोलाउन थालिसके, तर रमेश विवाह गर्न पटक्कै मान्दैनन् ।
नेपालमा करियर बनाउन व्यस्त रमेशलाई पढाइको क्रममा गर्लफ्रेण्ड बनाए पनि डेटिङ गरेरै हिँड्नचाहिँ खासै फुर्सद थिएन । तर प्रकाश कोविदका कामुक उपन्यासहरू भने पढ्न भ्याउँथे । उनी पढाइ सकेर परिवारले खोजिदिएकै केटीसँग बिहे गरेर घरजम गर्ने सोचमा थिए । तर डिभी पर्नेबित्तिकै उनको मन परिवर्तन भयो । उनलाई लाग्यो – आहा ! सेक्स-फ्री अमेरिका ! बिहे नगरीकन एक्लै गएर केही वर्ष भए पनि जीवनको मज्जा लिइहाल्छु । केही खैरिनी केटीहरुसँग डेटिङ गरिहाल्छु, र फरक किसिमको अनुभव गरिहालूँ । उनी एक दुई वर्षपछि बिहे गर्ने सर्तमा अमेरिका हानिए । परिवारले पनि उमेर भर्खर २७ वर्षमात्र पुगेकाले खासै प्रेसर दिएनन् ।
अमेरिकाको न्यूयोर्क सहरमा सुरुमा कोठा खोज्ने र जागिर खोज्ने काममा व्यस्त भए । जागिर पनि केही ठाउँमा एप्लाई गरेपछि राम्रै मिल्यो । केही आफन्त र साथीभाइहरू भए पनि उनी म्यान्हाटनमा २५०० डलर तिरेर सुविधा सम्पन्न एक अपार्टमेन्टमा राम्रो बन्दोवस्तसँग बस्न थाले । पैसो पनि राम्रै आउन थाल्यो । नेपालमा पैसा पठाउनु पर्ने बाध्यता पनि उनलाई थिएन । बरु कार किन्न र तीन महिनाको कोठा भाडासमेत उतै नेपालबाटै ल्याएका थिए ।
दिनहरु राम्रैसँग बित्दै थिए । काममा जानेआउने गर्थे । कहिले घरमै पकाएर खान्थे त कहिले बाहिर रेष्टुराँमा । भगवान्ले जीवनमा भनेजस्तै सबै कुरा पुर्याइदिएका थियो । बिदाको दिन थियो । रमेश स्टार बक्समा कफी पिएर ल्यापटपमा घोक्लिएर बसेका थिए । साइडमा एउटी २५ हाराहारी उमेरकी राम्री केटी हातमा कफी बोकेर क्याटवक शैलीमा उनको अगाडि आइपुगी । उसले रमेशलाई सोधी, “म तिम्रो टेबुल सेयर गरेर बस्न सक्छु ?”
यसो हेर्दा स्वर्गकी अप्सराजस्ती राम्री केटीले अफर गर्दा रमेशले हुन्छ भनिहाल्यो । टेबुलमा कफी राखेर केटी बसी । रमेशले पनि आफ्नो ल्यापटप बन्द गरेर ब्यागमा राख्यो । “बाई द वे, म जेनिफर फेल्कोनी ।” केटीले आफ्नो परिचय दिइहाली । रमेशले पनि आफ्नो परिचय दियो।
छुँदा पनि दाग लाग्लाजस्ती गोरी । नरम छाला, ख्याप्प परेर टाँसिएको पेटमा मिलेर उचालिएका पुष्ट वक्षस्थल, बारुले कम्मर, ओठमा ठिक्कको लिप्कस्टि, मिलेका बत्तीसै दन्त, फरर परेको खैरो कपाल, मन्द मुस्कान र फरर अङ्ग्रेजी बोल्ने अन्दाज । अझ पर्फ्युमको बास्नाले टेबुल नै मगमग भयो । केटीको उपस्थितिले रमेशको शरीरमा अर्कै तरंग पैदा गरिदियो । ऊ एकोहोरो हेरिरहन चाहन्थ्यो । तर बैङ्कमा सबै कर्मचारीलाई हरेक महिना सेक्सुअल हर्यास्मेन्टको क्लास दिन्छ । अमेरिकामा कसैले कसैलाई अस्भाविक तवरले हेर्नु पनि harassment हो । तर पनि ऊ जेनिफरलाई झुक्याएर हेरिरहन्थ्यो । सोच्यो, “यस्ती राम्री केटीलाई अघाउन्जेल हेर्न पनि नपाइने कस्तो अमेरिका ? बरु इन्डिया/ नेपालमा केटीहरुलाई जिब्रो पड्काईपड्काई जिस्क्याउन पाइन्थ्यो । बेला-बेलामा यसो कलेज बङ्क गरेर साथीहरुसँग डर्टी पिक्चर पनि हेर्न पाइन्थ्यो।”
कुरा गर्दै गएपछि एकैछिनमा दुबै जना एकअर्कामा निक्कै सजिलो महसुस गर्दै गए । रमेशले आफ्नो बारेमा बतायो । जेनिफर ठुला ठुला आँखा पारेर रमेशका कुरालाई खुब चासो दिएजस्तो गरेर सुनिरहेकी थिई । मनमनै भन्दै थिई, “आज खुब राम्रो मुर्गा फेला पर्यो । ”
रमेशले पनि यस्ती राम्री, पढेलेखेकी, ग्लोबल राजनीति, भूगोल, इतिहस, संस्कार र संस्कृति सबै बुझेकी केटीसँग कुरा गर्दा निक्कै आनन्द मान्यो । दुबै जना गफ्फिन थालेपछि समय बितेको पत्तै भएन । साँझको पाँच बज्न लागिसकेको थियो । रमेश जेनिफरको फोन नम्बर मागेर अर्को हप्ता भेटघाट गर्ने बाचाका साथ छुट्टिनमात्रै लागेको थियो, जेनिफरले कुनै बारतिर गएर बियरमा कम्पनी दिन प्रस्ताव गरी । रमेशलाई पनि छुट्टिन मन कहाँ थियो र ? “हुन्छ” भनिहाल्यो ।
दुबै जना साइडवाकमा हिँडेर फिप्थ एभिन्यूमा रहेको एउटा बारमा पसे । बार पस्नुअघि रमेशले जेनिफरको हात समाउने अनुमति माग्यो । उसले आफ्नो हात दिई । रमेश बारमा जेनिफरलाई आफ्नै गर्लफ्रेण्ड हो भनेर मानिसहरूले थाहा पाउन भन्ने चाहन्थ्यो । जेनिफरको रुवाजस्तै नरम हात समातेर रमेश बार पस्यो । बारमा दुबैले हल्का स्न्याक्स सेयर गर्नेगरी ब्ल्यूमुन (Blue moon) नामको बियर मगाए । जेनिफरले पनि अघिल्लो हप्ता पकाएको स्पिनिच लजानिया डिनर फ्रिजमा रहेको बताई । रमेश घरमा गएर राती चाइनिज नुडल्स उमालेर खाने बतायो । उनीहरू दुबै जना क्रमशः बियर पिउँदै गए । बेराले थप्दै गयो । रातको दुई बज्दा उनीहरू लगभग बेहोसी भइसकेका थिए । रमेशले डेविटकार्ड मार्फत् १५०० डलर बिल तिर्यो । बल्लतल्ल बारको बेराको सहयोगमा उबर बोलायो । जेनिफर पनि उबरमा रमेशसँगै गई । उबरबाट उत्रेर बल्लतल्ल अपार्टमेन्टमा पुगे । जेनिफरका अग्ला हिल भएका स्यान्डिल खोलेर फुत्त भुईँमा फालिदियो, र आफ्नै बेडमा सुतायो ।
कहिल्यै पनि यति धेरै बियर नपिएको रमेशलाई बेस्सरी बान्ता भयो । बान्ता गरिसकेपछि रमेश निक्कै हल्का भयो । दाँत माझ्यो । मुख धोएर बेडमा आउँदा जेनिफर मुडोजस्तै पल्टिरहेकी थिई । रमेशले जेनिफरलाई सुम्सुम्यायो । ओठमा ओठ मिलायो । सानो बालकजस्तै ऊ जेनिफरसँग लिट्पुटियो । ऊ आगोजस्तै दनदनी बलिरहेको थियो । होस सह्माल्न सकेन, र जेनिफरका एक एक कपडा खोल्दै गयो । त्यसपछि के के भयो ? रमेशले पत्तै पाएन ।
बिहान उठ्दा जेनिफरले आफूलाई नग्न अवस्थामा पाई । कपडा एकातिर अनि स्यान्डिल-ब्याग अर्कोतिर छरपस्ट । रमेशलाई सोधी, “यो तिमीले के गरेको रमेश ? म होसमा नभएको अवस्थामा तिमीले किन यसो गरेऊ ? यो अपराध हो । रेप हो ।”
एकैछिनमा एक भ्यान पुलिस आए । रमेशलाई हत्कडी लगाए । स्वास्थ्य परीक्षण गर्दा जेनिफरको भेजाइनामा चोटपटकसहित स्खलित विर्य भेटियो । रमेशले नकार्दा नकार्दै सम्पूर्ण कुराहरुको भिडियो जेनिफरको मोबाइलमा रेकर्डडेड रहेछ ।
फ्री-सेक्सको सपना बोकेर भरपुर आनन्द लिन एक्लै आएका रमेश अहिले जेलमा छन् । उनी एन्टिरेट्रो भाइरल नामको एचआईभीको औषधी पनि सेवन गरिरहेका छन् । यो कुराबाट उनको परिवार पुरै बेखबर छ । रमेश हरेक पल अमेरिकाको फ्री-सेक्स सपनाको महँगो हिसाबकिताब चुक्ता गर्दैछन् ।
साहित्यपोष्ट