चर्चित कलाकारहरु राजनीतिमा आउनेक्रममा धमाधम चलिरहेको छ । चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको हो ।कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् । करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् ।
यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि पछि एमाले प्रवेश गरिन् ।रेखा थापा नेकपा माओवादी केन्द्र हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । पुराना कलाकार शिव श्रेष्ठ राजसंस्थाको पक्षमा खुलेका छन् । रवीन्द्र खड्का राजसंस्थाको पक्षमै निरन्तर देखिन्छन् ।
अभिनेता भुवन केसी कुनैबेला राजावादीसँग नजिक थिए । पछिल्लो समय उनी नेकपा एमालेमा छन् । तर, केसीलाई एमालेबाट अलग बनाउन एउटा समूह नै लगेको छ । भुवन केसीलाई राप्रपामा भित्राउने तयारी भइरहेको छ ।
विश्वस्त स्रोतका अनुसार राप्रपाका केही नेताहरुले भुवन केसीलाई पार्टीमा ल्याउन खोजेका छन् । उनीहरुले केसीलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार बनाउने गरी तान्न खोजेका हुन् । स्रोतका अनुसार उनलाई काठमाडौं महानगरको मेयरमा भिडाउन सक्ने बताइएको छ ।