चितवन, पुस २४- भरतपुर महानगरपालिका–७ प्रेमबस्तीका राजकुमार गिरीले रुसी सेनामा ज्यान गुमाएपछि परिवार शोकमा डुबेको छ ।
मंसिर १६ गते रुस र युक्रेन युद्धमा ४४ वर्षीय गिरीले ज्यान गुमाएको भए पनि आधिकारिक जानकारी आएको भने आज आठ दिन भएको हो ।
धादिङ खानीखोलाका राजकुमार बिगत १० वर्षदेखि भरतपुरको प्रेमबस्तीमा घर बनाएर स्थायी बसोबास गर्दे आएका थिए । रोजगारीको लागि दुबई गएका उनी अझ राम्रो कमाइ हुन्छ भन्दै रुसी सेनामा भदौं १६ गते प्रवेश गरे । मासिक तीन लाख कमाइँ र रुसी नागरिकताको आशामा उनी रुस पुगेको उनको पारिवारिक स्रोत बताउँछ । उनकै कमाइमा निर्भर परिवार अहिले मृत्युको खबरले बिक्षिप्त बनेको छ । शोकको आज आठौँ दिनमा परिवारलाई नत क्षतिपूर्तिको ठेगान छ नत शव आउने नै निश्चित छ । उनकी श्रीमती शर्मिल गिरी, बालक छोरो अग्रिम गिरी र भाईले प्रेमबस्ती घरमा काजक्रिया गर्दै छन् ।
राजकुमारको सालो मनोजले काजक्रियाको काम सकिएपछि परराष्ट्र मन्त्रालयमा गएर क्षतिपूर्तिको लागि निवेदन दिने सोच बनाएको बताए । उनले भने, ‘ क्षतिपूर्ति आउँछ वा आउँदैन थाहा छैन तर प्रयास भने गर्नुपर्ला । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारलाई नागरिकता दिने भन्ने पनि सुनेको छु । खै के हुन्छ ?’ उनले तिहारको लक्ष्मी पूजाको दिन भिनाजुसँग कुरा गरेका थिए । भिनाजुले रुसी नागरिकताको लागि फोटो खिचेर आएको बताएका थिए तर उनले रुसी नागरिकता प्राप्त गरेर सेनामा राम्रो कमाइ गर्ने परिवारको सपना एकाएक निराशामा बदलियो । मनोजले भिनाजुको शव नेपाल आउने सम्भावना निकै कम भएको बताए । मृतक राजकुमारको दुई छोरी र एक छोरा छन् । जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी कक्षा १२ मा पढ्दै छन् भने छोरा अग्रिम गिरी बालक नै छन् ।