आज नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकबाट सुरु भएको पैदलयात्रको कमाण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन् ।बुटवलसम्मको यात्रा तीनदिनमा पुरा गर्ने लामिछानेले बताए ।
२०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको सडक ५७ वर्षपछि फराकिलो भएको छ। अहिले चीनको एक कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यस सडक खण्डको ११४ किलोमिटर विस्तार गर्ने काम गरिरहेको छ।
यस सडक विस्तार आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल चैत ८ गते बुटवलमा गरेका थिए। हाल दुई लेन रहेको यो सडकलाई कतिपय स्थानमा चार लेन, कतिपयमा छ लेन र कतिपयमा तीन लेनको बनाइँदैछ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर गरी दुई खण्डमा यो आयोजना विभाजन गरिएको छ।
१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहनेछ। यो विस्तृत सडकले रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई जोड्नेछ।
अहिले सडक विस्तारको क्रममा पुल, कल्भर्ट, ड्रेन निर्माण तथा सडक किनारा भर्ने काम भइरहेका छन्। केही स्थानहरुमा सबै काम सकिएर कालोपत्रे गरिएको छ।