काठमाडौं : प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेनु दाहालले विजय हासिल गर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले भने, ‘सिर्जना सिंह काठमाडौंबाट र प्रचण्डजीको छोरी रेनु दाहाल भरतपुरबाट उठिराख्नुभएको छ । मलाई विश्वास छ दुवै महिलाले जित्नुहुनेछ ।’
सिर्जनाले प्रकाशमान सिंहसँग बिहे गर्नु र रेनु प्रचण्डकी छोरी भएर जन्मनु गल्ती हो ? भन्दै देउवाले प्रश्न समेत गरे । ‘उहाँ प्रचण्डकी छोरी भएर जन्मनुभयो । कहाँ जन्मने भन्ने कुरा आफ्नो हातमा हुन्छ ? त्यस्तै सिर्जना सिंहको आमा बुवाले प्रकाशमानसँग बिहे गरिदिए । प्रकाशमानसँग बिहे गर्नु गल्ती थियो ? उहाँका आमाबाले बिहे गरिदिनु दोष हो ?,’ देउवाको प्रश्न छ । सिर्जना सिंह र रेनु दाहालमा कुनै कुराको कमी नभएको पनि उनको भनाइ थियो । ‘अरु के कुरामा कमी हुनुहुन्छ उहाँहरु ?,’ उनले भने । सिर्जनाले काठमाडौ बनाउँछु भनेको र रेनुले भरतपुरमा राम्रो काम गरेको देउवाले बताए ।