भक्तपुर : मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोराले एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
कमेरोटामा डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपलकाे रुखकाे फेदमा लगाइएकाे अन्दाजी ५० मिटर अग्लाे हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा सुसाइड नोटसमेत भेटिएको छ । यसबारेमा बुझ्दा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।