काभ्रेपलाञ्चोक : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश चुनावमा तालमेल बाध्यकारी नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बुधवार बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा शर्माले यस्तो वताउनुभएको हो । उहाँले पार्टीको आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताउनुभयो ।
‘चुनावमा अन्य दलसँगको तालमेल बाध्यकारी भने होइन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ’, शर्माले भन्नुभयो । उहाँले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।’ गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उहाँले दोहोर्याउनुभयो ।
नेता शर्माले कांग्रेसलाई धेरैजसो स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गर्नुभयो । ‘गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको छ, यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्छ’, उहाँले भन्नुभयो । उहाँले एक सय ५५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका ठाउँमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सभापति तीर्थ लामाले आसन्न निर्वाचन लक्षित पार्टीको एक महिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानसँगै सङ्गठन विस्तारमा लागिएकाले जिल्लाको १३ स्थानीय तहमै नेपाली कांग्रेस विजयी हुने योजना बनाइने बताउनुभयो ।