गैँडाकोट । नव जागरण ग्रामीण विकास केन्द्र, गैँडाकोट–९, थुम्सी, नवलपुरको बाह्रौँ साधारण सभा तथा सातौँ अधिवेशनबाट डुण्डिराज कंडेल ‘विनोद’ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।
२०८३ साल असोज २४ गते सम्पन्न अधिवेशनले कंडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। संस्थाका सभापति रामचन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा धामनाथ सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
साधारण सभामा संस्थाका सचिव कल्पना देवकोटाले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष टंकप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमार्फत संस्थाका गतिविधि तथा आर्थिक अवस्थाबारे जानकारी गराइएको थियो।
कार्यक्रमका अवसरमा संस्थाको प्यारापिट निर्माणमा आर्थिक तथा अन्य सहयोग पुर्याउने दाताहरूलाई सम्मान गरिएको थियो। संस्थाको भौतिक पूर्वाधार विकास तथा सामाजिक कार्यमा योगदान पुर्याउने सहयोगीहरूप्रति आभार व्यक्त गरिएको थियो।
नयाँ कार्यसमिति
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमन लामिछाने, सचिवमा कुशल सापकोटा, कोषाध्यक्षमा गंगा कुमारी रेग्मी सापकोटा र सहसचिवमा प्रान्जल सापकोटा चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सुम्निमा पौडेल कंडेल, कुलप्रसाद सापकोटा, फणिन्द्र सापकोटा ‘सुशिल’ र सन्ध्या लामिछाने सापकोटा चयन हुनुभएको छ।
लेखा समिति पनि गठन
अधिवेशनले शिवलाल आचार्य ‘चन्द्रकान्त’ को संयोजकत्वमा लेखा समिति गठन गरेको छ। समितिको सदस्यमा टंकप्रसाद सापकोटा र कल्पना देवकोटा रहनुभएको छ।
निर्वाचन समितिका संयोजक गंगाबहादुर पाण्डेले निर्वाचन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।
नव निर्वाचित कार्यसमिति तथा लेखा समितिले संस्थाको उद्देश्यअनुरूप ग्रामीण विकास, सामाजिक सेवा तथा संस्थागत विकासका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

