नवलपुर । नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज बाल्मीकि नगरलाई उदृत गर्दै दिनुभएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख चार सय क्युसेक पुगेको छ । ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताउनुभयो । नारायणी नदीमा पानीको बहाब बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको जानकारी दिनुभयो ।
नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्णरुपमा बन्द गरिएको पालको भनाइ छ । ब्यारेजमा पानीको सहत बढ्दै गरेको उल्लेख गर्दै पालले ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट तथा तल्लो पानीको सतह ३५७.६ फिट पुगेको जानकारी दिनुभयो । ब्यारेजमा पानीको बहाब बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै पालले बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा लैजाने काम गरिएको जानकारी दिनुभयो ।

