चितवन,माघ ३- भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सूर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यायल क्षेत्रमा अनुगमन गरेर सूर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । नागरिकको गुनासो र उजुरीको आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरापलिका उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले बताउनुभयो । विद्यालय र स्वास्थ्य कार्यालयको वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले अनुगमन गर्दै कडाइका साथ कार्यान्वयन गराइने उहाँले बताउनुभयो ।
अनुगमन टोलीले भरतपुर १ पोखराबसपार्क स्थित आदिकवि भानु मावि, रामनगर स्थित रामनगर मावि र भरतपुर २९ स्थित जुगेडी मावि वरपरका पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विद्यालय क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने गरेको भेटिएपछि चुरोट, सुर्ती, भोला, गुड्खा जफत गरि नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिनुभयो । उहाँले विद्यालय क्षेत्रबाट १ सय मिटरभित्र पर्ने किराना र होटलहरुमा सूर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने बताउनुभयो । सुर्तीजन्य पदार्थ बरामद गरेपछि पसल सञ्चालकहरुलाई सचेत पनि गराइएको सापकोटाले बताउनुभयो ।
यस्तै अनुगमन टोलीले नारायणगढको लायन्सचोक स्थित भैंसी र राँगाको मासु विक्री गर्ने दुई पसल बन्द गराएको छ । सडक नजिकै विक्रीका लागि खुल्ला रुपमा मासु राखिएकाले बन्द गराइएको भरतपुर महानगरको कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो ।