जनकपुरधाम, माघ २- धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको हो । राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।
प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए । ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पुर्याइदिएका थिए ।
माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । ‘माइतमा अस्मितालाई घाइते अवस्थामा छाडेर साथीहरु भागे । श्रीमान् राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गर्यौं । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।
प्रहरीले भागेका तीनैजना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।