नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुमनकुमार श्रेष्ठले संस्थालाई गर्भिलो बनाउने योजनासहित नेतृत्व सम्हाल्न उम्मेदवारी दिएको बताएका छन्। आफू सधैँ भड्किलो प्रचारभन्दा कर्ममा विश्वास गर्दै आएको बताउँदै विगत ५२ वर्षदेखिको व्यावसायिक जीवनको अनुभवलाई संघमार्फत सेवा गर्ने सोचका साथ चुनावी मैदानमा होमिएको उनको भनाइ छ।
पाँच कार्यकाल कार्यसमिति सदस्य र तीन कार्यकाल उपाध्यक्षसहित हाल वरिष्ठ उपाध्यक्ष पदमा रहेका श्रेष्ठले संघको कार्यकाल स्वर्णिम बनाउन जस्तोसुकै काम पनि गर्ने प्रतिवद्धता जनाएका छन्। ‘बोलेर होइन, गरेर देखाउनको लागि एकपटक नेतृत्व सम्हाल्ने योजना बनाएको हुँ,’ उनी भन्छन्, ‘मेरो कार्यकालाई स्वर्णिम बनाउने सपना छ।’ उनी शालिन स्वभावका व्यक्ति हुन्।
यतिबेला सबै उद्योगी, व्यवसायीलाई समेटेर संघको नेतृत्व लिन चाहेका छन्, उनले। कर्मठ युवा उद्यमीको बलियो साथ पाएका श्रेष्ठले व्यावसायिक हितको लागि हालको आर्थिक मन्दी र यसको प्रभावलाई टाढा बनाउनको लागि पनि आफू नेतृत्वमा आउन चाहेको स्पष्ट पारेका छन्।
उनीसँग विगत १८ वर्षदेखि उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर काम गरिसकेको अनुभव छ। श्रेष्ठ सोही अनुभवलाई व्यावसायिक हितमा प्रयोग गर्ने उद्देश्यका साथ यसपटक अध्यक्ष बन्ने दौडमा छन्।