चितवन, २० पुस । चितवनको इच्छाकामना गाउँपालिका–७ सानो भोर्लेस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
चितवन ट्रेलमा आबद्ध युवाहरुको पहल र सहयोगमा विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी, मोजा तथा खाजाका लागि बिस्कुट र चकलेट वितरण गरिएको हो । चितवन ट्रेलका सदस्यहरु ध्वज गुरुङ, समर श्रेष्ठ, प्रमित मगर, कृष्ण घिमिरे र रोनिश कर्माचार्य तथा फ्रिडमार्ट ग्यालरीको सहयोगमा ट्रयाकसुट, मोजा र खाजा वितरण गरिएको प्रमित मगरले बताउनुभयो । विद्यार्थीलाई सहयोग गरिएको टोपी भने भरतपुरका ग्रीनल्याण्ड पब्लिक स्कुलको सहयोगमा वितरण गरिएको मगरको भनाइ छ ।
विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रमको संयोजक राष्ट्रिय आधारभूत विद्यालय सानो भोर्लेका प्रधानाध्यापक तीलबहादुर गुरुङ रहनुभएको थियो ।