चितवन, ५ पुस । अटिजम केयर चितवन सोसाइटीले जिल्लाका दुई पालिकामा अटिजम अपाङ्गता भएका बालबालिकाको लागि लागू गरेको समावेशी शिक्षा परियोजनाबारे छलफल गरेको छ । सोसाइटीले आज भरतपुरमा सामाजिक लेखा परीक्षण गर्दै संस्थाको गतिविधिको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला डल्लाकोटीले अटिजम स्नायु विकास सम्बन्धी समस्या भएको भन्दै यो समस्या बालबालिकाको विकासका क्रममा देखिने गरेको बताउनुभयो । उहाँकाअनुसार आफूहरुले अटिजम अपाङ्गता भएका बालबालिका लक्षित गरी चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना लागू गरेको बताउनुभयो । तीन वर्षे परियोजना जनवरी २०२२ बाट सुरु भएको उल्लेख गर्दै उहाँले अटिजम अपाङ्गता भएका तथा कार्यगत सीमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालिकाहरु लक्षित समूह रहेको बताउनुभयो ।
ह्याण्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनलसँगको सहकार्यमा चार वर्षदेखि १७ वर्ष उमेरसम्मका अटिजम अपाङ्गता भएका बालकालिको लागि काम गर्दै आएको अटिजम केयर चितवन सोसाइटीकी कार्यकारी निर्देशक प्रमिला न्यौपानेले बताउनुभयो । परियोजनाले पालिका, समुदाय र विद्यालयसँग सहकार्य गरेर विभिन्न क्रियाकलापहरु गर्दै आएको न्यौपानेको भनाइ छ । समुदायस्तरमा घुम्ती शिक्षकद्वारा घरमा आधारित शिक्षा, घरमा पहुँचयुक्त वातावरणका लागि उपयुक्त अनुकूलन, सहायक सामग्री सहयोगलगायतका काम गर्दै आएको उहाँले बताउनुभयो ।
हालसम्म परियोजनाको पहुँचमा पुगेका लाभग्राहीमध्ये ४९ हजार चार सय ९३ बालबालिका, छ सय ६० शिक्षक, एक हजार सात सय पाँच अभिभावक तथा एक हजार छ सय ७२ अन्य सरोकारवाला रहेका जनाइएको छ । यसैबीच, सोसाइटीको आजै भएको साधारणसभाका क्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले अटिजम बारे आफूले भरखरै बुझ्ने मौका पाएको भन्दै अटिजम भएका व्यक्तिको सहजीकरणका लागि सुझाव लिएर अघि बढ्ने बताउनुभयो । उहाँले आफू सबैसँग सहकार्य गरेर अघि बढ्ने भन्दै अटिजम भएका व्यक्तिको लागि आवश्यक पर्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
साधारणसभाका क्रममा संस्थाका सचिव सुनीलचन्द्र शर्माले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष विष्णु सिग्देल ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका नगर शिक्षा अधिकारी महेन्द्र पौड्याल, अपाङ्गता समन्वय समिति चितवनका संयोजक निर्मलकुमार श्रेष्ठ, ह्याण्डिक्याप इन्टरनेशनलका अपरेसन हेड मदन जोशीलगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाकी अध्यक्ष निर्मला डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य लालमणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।



