काभ्रे : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा ठूला दलका बाकस खाली पठाएर सबक सिकाउनुपर्ने बताएका छन् ।
काभ्रेको बनेपामा राप्रपाले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला पार्टीलाई सुधार्ने हो भने बाकस खाली पठाइदिनुपर्ने बताए । ‘यस पटकको निर्वाचन कांग्रेस, एमालेको बाकस खाली पठाइदिनुपर्छ,’ उनले भने, ‘आफ्नो पक्षमा मत नदेखेपछि बल्ल कांग्रेस, एमाले, माओवादी केन्द्र सुधारिन्छन् ।’
भ्रष्टाचार, अनियमिततामा दाग नलागेका व्यक्तिलाई राप्रपाले उम्मेदवार बनाएको भन्दै जिताउन उनले अनुरोध गरे । स्थानीय तहमा विजय हासिल गरेपछि विज्ञ समूह बनाएर स्थानीय तह सञ्चालन गरिने उनले तर्क गरे ।
कार्यक्रममा राप्रपाका उपाध्यक्ष भुवन पाठक, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला कार्यवहाक अध्यक्ष गणेशलाल श्रेष्ठलगायतले राप्रपाको पक्षमा माहोल बन्दै गएको दाबी गरे । विभिन्न पार्टी परित्याग गरेकालाई लिङ्देनले पार्टीम स्वागत गरेका थिए ।