काठमाडौं : चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
जानकारी अनुसार वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएको खुल्न आएको छ । तर उनीसँग उक्त मोटरसाइकलको कुनै कागजपत्र थिएनन् ।
वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गर्ने गरेको थिएन् । वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउनेबारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताउनुभयो । उनी अहिले प्रहरी हिरासतमा छन् ।