अभिनेता पल शाह मुद्दा विरुद्द जिल्ला अदालत तनहुँमा दायर भएको छ । बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनी बिरुद्द मुद्दा दायर भएको हो ।
यसअघि पूर्वी नवलपरासीमा पनि यस्तै मुद्दा परेको छ ।
तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेश गरिएको छ ।
पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक करणी गरेको बताएकी छन् । शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा पनि शाहसँग एउटै कोठामा बस्न बाध्य पारेको उनले उल्लेख गरेकी छन्
‘सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर र माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोट स्थित रिसोर्टमा करणी गरेका हुन् ।’
यसअघि पल शाहका म्यानेजर भनिएका कृष्ण जोशीले पनि बयान दिएका थिए । सरकारी वकिल समक्ष उनको बयानमा नाबालिका गायिका र पलबीच रहेको प्रेम सम्बन्धबारे आफू जानकार रहेको बताएका छन् ।
पहिले जोशीलाई २५ हजार मासिक पारिश्रमिक दिएर म्यानेजर बनाएका शाहले गायिका नाबालिकासँगको सम्बन्धले ठूलो रुप लिन थालेपछि छाडेर गएकोमा मासिक ५० हजार रपैयाँ दिन थालेको समेत बयानको क्रममा थाहा भएको प्रहरी स्रोतले बताएको छ ।