काठमाण्डौ : धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल चलाउने तयारी भएको छ ।
रेल सेवा सञ्चालन हुने भएपछि धनुषाको जनकपुरधाम, औरही, जनकनन्दनीसहित विभिन्न पालिकाका बासिन्दा खुसी भएका छन् ।
रेल्वे लिकको काम सकिएको लामो समय भइसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बस्नुपरेका बेला अबको केही दिनमै रेल चल्ने कुराले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताउनुभयो।
नेपाल रेल्वे कम्पनीले केही दिन अगाडि रेलको परीक्षण गरेको थियो । रेलका लागि जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताउनुभयो । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म झण्डै ३५ किलोमिटर चल्ने रेल सेवाका लागि सामान्य सिटमा ७० र एसी सिटका लागि तीन सय रुपैयाँ भाडा निर्धारण गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।