काठमाडौँ : महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो, ल्युकोरिया ।
महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म) का महिलाहरुमा हुन सक्ने नितान्त प्राकृतिक र सामान्य चक्र हो ल्युकोरिया।
महिलाको योनीबाट सेतो रंगको, चिपचिप खालको पानी बग्नुलाई स्वास्थ्यको भाषामा ‘ल्युकोरिया’ भनिन्छ। यो भनेको हाम्रो शरीरले स्वतः महिला प्रजनन अंगको सफाइ गर्ने प्राकृतिक प्रक्रिया हो।
यो प्रक्रियाले योनीको भित्री भागलाई सफाइ गर्ने, त्यस क्षेत्रको पीएच मानलाई आवश्यक मात्रामा राखेर व्याक्टेरिया, ढुसी वा अन्य कुनै पनि किसिमका संक्रमणहरुबाट यौनाङ्गलाई बचाउने काममा सहयोग गरिरहेको हुन्छ। यस अर्थमा ल्युकोरिया उपयोगी प्रक्रिया नै हो।
तर प्रकृतिले निर्धारित गरिदिएको त्यो उपयोगी प्रक्रियामा पनि कहिलेकाहीँ गडबडी देखापर्न सक्छ। त्यस्तो गडबडी देखापर्नु चाहिँ समस्याको सूचक पनि हो।
सेतो वा हल्का पहेलो खालको पानी बग्ने आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ।महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो। कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ। यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ।
सेतो पानी बग्ने कारण
आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु, कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु, बिरामी मानिससँग सम्बन्ध राख्नु, पटक पटक गर्भपतन गराउनु।कुनै रुपमा संक्रमण या बिरामीको कारण, शरीरमा पोषक तत्वको कमी हुनु आदि ।
यस रोगका लक्षणहरु
चक्कर आउनु, शरीरमा थकावट हुनु, संवेदनशील अंग चिलाउनु, शरीरमा कमजोरी महसुस हुनु, संवेदनशील अंगबाट दूर्गन्ध आउनु, कब्जियत एवं टाउको दुखाई हुनु ।