चितवन, २२ पुस ।
यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।
उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा १३औँ संस्करणको चितवनको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशत भन्दा बढी पूरा भइसकेकोको छ । महोत्सव स्थलमा स्टल निर्माण, महोत्सवको मूल गेट निर्माण, सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताउनुभयो ।
विस २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो ।
यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर रहने श्रेष्ठले बताउनुभयो । महोत्सव परिसरमा २० वटा रेष्टुरेन्ट रहने भन्दै श्रेष्ठले सबैको बुकिङ पूरा भएको जानकारी दिनुभयो ।
महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० वटा स्टल रहनेछन् । सबै स्टलको बीमा गरिनेछ । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणले रु ५० र विद्यार्थीले रु २५ को टिकट काट्नुपर्नेछ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।
नेपाल कै सबैभन्दा ठूलो महोत्सवको तयारी कसरि हुदै छ ? // Chitwan Mahotsab 2078 // Chitwan News Update