ओखलढुङ्गा । शनिबार विहान ओखलढुङ्गाको चम्पादेवी गाउँ पालिकामा अरनिको यातायातको बस दुर्घटना भएको छ ।
चम्पादेवी गाउँपालिका वडा नं. ६, घोराखोरीको भदौरेमा बा १ ख ९३०४ नम्बरको बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
बस दुर्घटना हुँदा चम्पादेवी गाउँ पालिका वडा नं ६ का अन्दाजी ५६ वर्षका मिन बहादुर खड्का र बसका सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख
प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिए । घाइते भएकाहरुलाई उद्दार गरि प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा उपचार गरिएको छ ।
घाइते भएका खड्काको अबस्था गम्भिर भएकोले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउन लागेको स्थानीय यादव थापाले जानकारी दिए ।लामो समय पश्चात घोराखोरी आएको उक्त बस बाटो चिप्लो भएको कारण भदौरेमा नै रोकिएको थियो ।
रोकिराखेको बसलाई शनिवार विहान काठमाडौँ जान स्टार्ट गरेर फर्काउने क्रममा चिप्लिएर दुर्घटना भएको पाइएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
बर्षात यामको निरन्तर वर्षातका कारण अबरुद्ध रहेको काठमाडौँ घोराखोरी सडक केहिदिन देखि सन्चालनमा आएको थियो ।