चितवन,२९ भदौ । बर्खाका कारणले रोकिएको चितवनको पूल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक विस्तारको काम पुनः सुरु भएको छ ।
गएको जेठदेखि रोकिएको सडक बिस्तारको काम सोमवारदेखि पुनः शुरु भएको सडक निर्माण कम्पनी इन्डो सगुन जेभी बुटवलले जनाएको छ । कम्पनीका ठेकेदार सहदेव खड्का अनुसार सडक विस्तारका लागि १२० जना कामदार परिचालन गरिएका छन् ।
कोभिड र बर्खाका कारणले काममा ढिलाइ भएको भन्दैं ठेकेदार खड्काले कच्चा पदार्थहरुको सञ्चित गरिसकिएकोले अब कामलाई गति दिने बताए । अहिले सडकको नाली, रिटेन्सनवाल लगायतका काम सुरु भएका छन् । गोन्द्राङ क्षेत्रमा अलिक बढि काम भएको छ । अब नारायणगढ क्षेत्रमा विस्तारका बाँकी काम गरिने उनले बताए ।
सडकमा रहेका विद्युतका पोल सार्ने काममा विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रले सहयोग गरे विस्तारको काम अझै चाँडै अघि बढ्ने उनले बताए । प्राधिकरणले पोल सार्ने र तार तान्ने काम पनि अघि बढाएको उनको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रवक्ता शिव खनालले सडक विस्तारको काम १३ प्रतिशत सकिएको बताए । उनले सडक विस्तारको कार्यतालिका अनुसार नै काम भैरहेको बताए ।
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथैं दुर्घटनासमेत बढ्न थालेकोले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने सरकारको कार्यक्रम अन्तर्गत नारायणगढ बुटवल सडकको एक खण्डका रूपमा पूल्चोक गोन्द्राङखण्डलाई विस्तार गर्न थालिएको हो ।
कुल १ अर्ब १२ करोडको लागतमा बिस्तार गर्न लागिएको सडक २८ महिनाभित्र (२०७९ साल फागुन १० गते) सक्ने गरी २०७७ असोज २६ गते सम्झौता भएको थियो । ठेकेदार खड्काले तोकिएको सम्झौता मिति भित्र नै काम सक्ने योजनामा रहेको बताए ।
टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौंविसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा ४ लेन छ ।
दुईलेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए ।
५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड हुनेछ ।
सडकको दायाँबायाँ ११.५-११.५ मिटरको पिच हुनेछ । त्यसको विचमा ३ देखि ४ मिटरको मेडियन, मूख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुबैतिर हुनेछ ।