चितवनमा कोरोना महामारी नियन्त्रणमा गम्भिर नभएको भन्दै युवाहरुले प्रदर्शन गरेका छन् । युवाहरुले आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । युवाहरुले ‘यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै ?’,
‘आइसियू नभएर जाँदै छ ज्यान, सिडिओ साबको कता छ ध्यान’, ‘महामारीको पूर्व तयारी खोइ ?’, ‘देशकै मेडिकल सिटीमा, जनता मर्नुपर्ने अस्पतालको पेटीमा’ लगायतका नारा लेखिएका प्लेड कार्ड बोकेका थिए । युवाहरुको प्रतिनिधित्व गर्दै १० जनाले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । अक्सिजन र आइसियू बेडको अभावमा संक्रमितहरु दिनदिनै मर्ने क्रम बढेकाले संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी सन्तोष पन्तले बताए । ‘भरतपुर महानगरपालिका त एकदम निरिह नै देखिएको छ । कुनै काम गर्न सकेको छैन । बरु हामिले हेल्प डेस्क मार्फत दुई सय बढी विरामीलाई सहयोग गरेका छौँ’, उनले भने । चितवनमा निषेधाज्ञा लगाएको आज १२ दिन भइसकेको छ ।