नवलपुर, ७ चैत । नवलपुरको गैँडाकोट नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित हुँदै पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघले बिहीबार काठमाडौँमा गैँडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा घोषित गर्दै पुरस्कृत गरेको हो ।
उत्कृष्ट घोषित भएको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी , उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै यसको मूल्यांकन स्वरुप नेपाल नगरपालिका संघको ३२औँ स्थापना दिवसको अवसरमा गैँडाकोट नगरपालिकालाई पुरस्कृत गरिएको हो । गैँडाकोट नगरपालिकाले पालिकाको आर्थिक विकासका लागि उल्लेख्य काम गरेको भन्दै पुरस्कृत गरिएको हो ।
नगरप्रमुख मदनभक्त अधिकारीले यो पुरस्कार सम्पूर्ण नगरवासीहरूको साझा उपलब्धि भएको बताउँदै, नागरिकको आवश्यकताअनुसार कार्यसम्पादन गर्न सकेकाले नगरपालिकाले यो सम्मान पाएको उल्लेख गर्नुभयो।
त्यसैगरी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आफूहरुले नगरपालिका र नगरवासीको आर्थिक विकासका लागि योजनाबद्ध रुपमा काम गर्दै आएको बताउनुभयो ।