चितवन, २६ साउन । भरतपुर–१ देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठान श्री राम जानकी बालिका आश्रमको १४औँ नियमित वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार देवघाटमा सम्पन्न वार्षिक साधारणसभाका क्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले प्रदेशले आश्रमलाई आवश्यक पर्ने ठाउँमा सहयोग गर्ने बताउनुभयो । बालिका आश्रम बसेको ठाउँको जग्गालाई वैधानिकता दिएर अगाडि बढेको अवस्थामा प्रदेशको बजेट आश्रमलाई दिने वैधानिक बाटो खुल्ने उहाँको भनाइ छ । विभिन्न योजनाहरु छुट्याउने क्रममा लालपुर्जा नभएको ठाउँमा परेका कारण ती योजनाहर रद्द भएको भन्दै आश्रमलाई जग्गा आफ्नो नाममा ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सावित्री टण्डनले आश्रममा हाल ३७ जना बालिकाहरु आश्रित रहेको बताउनुभयो । हाल कक्षा १ देखि शास्त्री (स्नातक)सम्म अध्ययन गर्ने बालिकाहरु आश्रममा रहेका टण्डनको भनाइ छ । बालिकाहरु आश्रममा आवासीयरुपमा बसेर अध्ययन गर्दै आएका छन् । कार्यक्रममा प्रतिष्ठानका महासचिव रामेश्वर खनालले सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठान आफैले गुरुकुल सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।
प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण भइरहेको भन्दै खनालले पूर्वाधार तयार भएपछि कक्षा ६ बाट सञ्चालन गर्नेगरी गुरुकुल सञ्चालन गर्ने बताउनुभयो । एक करोड रुपैयाँ पु¥याउने गरी निर्माण गरिएको राम जानकी बालिका आश्रम अक्षय कोषमा हालसम्म ४० लाख रुपैयाँ पुगेको भन्दै उहाँले यस कोषको रकमबाट विभिन्न तीनवटा काम गरिने बताउनुभयो । कोषको ब्याजबाट आउने रकमले बालिकाहरुको विवाह गरिदिने, उच्च शिक्षाका लागि खर्च गर्ने तथा जटिल प्रकृतिका रोग लागेको अवस्थामा उनीहरुको उपचारमा खर्च गर्नेगरी कार्यविधि निर्माण भएको खनालले बताउनुभयो ।
हाल प्रतिष्ठानले आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा प्रदान गर्दै आएको भन्दै आध्यात्मिक शिक्षातर्फ श्रीमद्भागत, कर्मकाण्ड, योगध्यान, भजन, बाल शिक्षा एवम् आधुनिक शिक्षातर्फ गीतसङ्गीत, नृत्य, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा सिकाउँदै आएको खनालको भनाइ छ । आश्रममा सबै जाति र समुदायका बालिकाहरु रहेर अध्ययन गरेका भन्दै समावेशी रुपमा भागवत वाचकसमेत बनेका बताउनुभयो । आश्रममा रहेका ६ जना बालिकाहरु ब्यासमा बसेर श्रीमद्भागवत्, देवी भागवत्, गीता, रामकथालगायत वाचन गर्न सक्षम भएका भन्दै उनीहरुले राष्ट्रिय रुपमा विभिन्न स्थानमा भागवत् वाचन गरेका खनालको भनाइ छ ।
यसैबीच, प्रतिष्ठानले शनिबार नै आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेन, सामाजिक लेखा परीक्षण तथा पब्लिक अडिट कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षाविद् एवम् वरिष्ठ साहित्यकार केदारनाथ खनाल, भूमि आयोग चितवनका पूर्व अध्यक्ष बद्रि तिमिल्सिना, गैरसरकारी संघसंस्था समन्वय तथा सामुदायिक परिचालन शाखा भरतपुरकी रक्ष्मी पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । आश्रमकी जेठी छोरी सुनीता लोक कल्याणीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन उमा महेश्वरी स्मृति टण्डनले गर्नुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बालिका आश्रम सञ्चालन समिति सदस्य सिर्जना पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो ।