काठमाडौं, साउन २३- मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा अहिले पानी रोकिए पनि दिउँसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको बाह्रबिसेमा १११.४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै कञ्चनपुरको सुन्दरपुरमा ७९.८ मिलिमिटर पानी परेको छ । इलामको कन्याममा ६८.२, सोलुखुम्बुको पिकरनसमा ६५.२, अछामको असारघाटमा ६५ मिलिमिटर पानी परेको छ । चितवन, धनकुटा, दैलेख, तेह्रथुम, खोटाङ लगायतका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । चितवन लगायत ३२ जिल्लामा ठूलो पानी पर्ने भन्दै महाशाखाले ती जिल्लामा रेड अलर्ट जारी गरेको छ ।