काठमाडौँ, साउन १९- काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।
आज नेपाल खेलकुद महासङ्घ काठमाडौँले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए । उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरूलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन । हामी काठमाडौँ महानगरको मेयरको रुपमा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो । त्यसबेलामा काठमाडौँ महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औँ स्थानमा राखेको थियो । अहिले झारेर १७ औँ स्थानमा पुगेको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौँ महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’
पूर्व मेयर शाक्यले स्थानीयको इच्छा विपरीत कामनपाले काम गरिरहेको बताए। उनले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए ।