काठमाडौं, साउन ६- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा दुई सिफ्ट ओपीडी सञ्चालन गर्ने निर्णय गरेका छन् ।
मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ ।
पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ ।



