चितवन। चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले आयोजना गरेको तेस्रो संस्करणको राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि पश्चिमाञ्चल क्याम्पस पोखराले जितेको छ ।
देशभरका कम्प्युटर इन्जिनीयरिङ पढाइ हुने १६ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा पर्यटन प्रवद्र्धन सम्बन्धी उत्कृष्ट सफ्टवेयर निर्माण गरी पश्चिमाञ्चल क्याम्पस पोखरा पहिलो भएको हो । कलेजले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको विषयमा उत्कृष्ट सफ्टवेयर निर्माण गरेको कार्यक्रम व्यवस्थापक रेजीन भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधिसँगै पश्चिमाञ्चल क्याम्पसले रु ३५ हजार पुरस्कार राशि जित्न सफल भएको भण्डारीले बताउनुभयो ।
प्रतियोगितामा भरतपुरको युनाइटेड टेक्निकल कलेज दोस्रो हुँदै रु २५ हजार पुरस्कार प्राप्त गरेको छ । कलेजले ‘साइन टु स्पिच’ विषयमा सफ्टवेयर निर्माण गरी प्रस्तुती दिएको थियो । त्यस्तै प्रतियोगितामा आयोजक बोस्टन इन्टरनेशन कलेज भरतपुरका विद्यार्थी तेस्रो भएका छन् ।
बोस्टनका विद्यार्थीहरुले च्याट जिपिटीजस्तै प्राइभेट जिपिटी सम्बन्धी सफ्टवेयरको विकास गरेका थिए । उनीहरुले विद्यार्थीहरुका लागि आवश्यक पर्ने अध्ययन सामग्री, कलेजको एसाइनमेन्टलगायतका विषयहरु समेटेर सफ्टवेयर निर्माण गरेका भण्डारीको भनाइ छ । तेस्रो भएको बोस्टन कलेजले रु १५ हजार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट सफ्टवेयर निर्माण गरेको भन्दै भरतपुरको फोब्र्स कलेजलाई पुरस्कृत गरिएको छ । उनीहरुले सामूदायिक स्वास्थ्य सम्बन्धी सफ्टवेयरको विकास गरेका थिए । उत्कृष्ट सफ्टवेयर निर्माण गर्ने कलेजका विद्यार्थीले रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
बोस्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजीले बुधबारबाट सुरु गरेको ह्याकाथन भर्सन ३ प्रतियोगितामा विद्यार्थीहरुले लगातार ४८ घण्टासम्म निर्माण गरेका सफ्टवेयरको आज प्रस्तुतीकरण गरेका थिए । सूचना प्रविधि तथा कम्प्युटर अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु प्रतियोगितामा सामेल भएका थिए । सहभागी समूहहरुमध्ये पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, विकास अनुसन्धानलगायत विषयहरुमा विद्यार्थीहरुलाई सफ्टवेयर निर्माण गर्न लगाएर प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, पश्चिमाञ्चल क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, लुम्बिनी आईसीटी क्याम्पस, प्रेसिडेन्सी बिजनेस स्कुल, फोब्र्स कलेज, युनाइटेड कलेज, क्रिमसन कलेज अफ टेक्नोलोजी, अर्किड कलेज, वाल्मीकि शिक्षा सदन, अंकुरम एकेडेमी, सैनिक आवासीय महाविद्यालय, स्काई राइडर सेकेन्डरी, स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुल, बोस्टन इन्टरनेशनल कलेज, अरोमा कलेजल ेसहभागिता जनाएका थिए ।
कलेजले यसअघि दुई वटा संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको छ । ह्याकाथन शब्द ‘ह्याकर’ र ‘म्याराथन’ शब्द मिलेर बनेको हो । जहाँ ‘ह्याकर’ भनेको एक चलाख प्रोग्रामर र ‘म्याराथन’ भनेको एक सीमित अवधिभित्र सहनशीलतापूर्वक कोडिङ गर्नु हो । ह्याकाथन एक सामाजिक कोडिङ कार्यक्रम पनि हो ।