चितवन,मंसिर ३०-
चितवनको माडी नगरपालिका वडा नम्बर १ स्थित गर्दिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करीब ६ बजेको समयमा भरतपुर तर्फ आउँदै गरेको मोटरसाइकललाई एक सवारी साधनले ठक्कर दिँदा माडी २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो ।
बा.प्र.०३ ०४प ८९१७ नम्बरको मोटरसाइकलमा बनकट्टाबाट भरतपुर तर्फ आउँदै गर्दा वडासदस्य लुईंटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको सवारी साधनले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सवारी साधन कुन भन्ने अझै खुल्न सकेको छैन । ठक्कर दिएको सवारी साधन ट्रयाक्टर हुनसक्ने माडी प्रहरीको अनुमान छ । ठक्कर दिने सवारी साधनको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको हो । दिवंगत लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो । केही दिनअघि पनि माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।