नवलपुर, १८ मङ्सिर, गत मङ्सिर ८ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरलाई ठक्कर दिएर भागेका ट्रक चालक पक्राउ परेका छन् ।
गैँडाकोट–१० मा ना८ख ५८४४ नम्बरको ट्रकले प्र०२–०३–१७ प ६५३२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार स्थानीय ३५ वर्षीय बालकुमारी कंडेलको मृत्यु भएपछि ट्रक चालक घटनास्थलबाट फरार भएका थिए ।
घटनापछि मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उपस्थित भएर ८ गतेको घटनामा स्कुटरलाई ठक्कर दिने चालक हीराबहादुर बाइबा आफू भएको दाबी गरेका व्यक्ति नक्कली चालक भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू ट्रक चालक भएको दाबी गर्ने मकवानपुरको मनहरी गाउँपालिका–२ घर भएका २४ वर्षीय सञ्जय तितुङ उक्त दुर्घटनामा नक्कली चालक बनेको प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरीले सक्कली चालकको खोजी गरेको थियो ।
प्रहरी अनुसन्धानबाट सक्कली ट्रक चालक हीराबहादुर वाइवालाई समेत मङ्सिर १५ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । घटनाबारे आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यालय प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले घटनामा संलग्न सक्कली चालक वाइवा र आफू ट्रक चालक भएको दाबी गरेका नक्कली चालक तितुङलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो । दुर्घटनामा संलग्न चालक वाइवालाई गैँडाकोट–१ बाट पक्राउ गरी नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको सुनारले जानकारी दिनुभयो ।